प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मंसिर २०८०
प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट प्रहरी चौकी डोलेश्वरको नवनिर्मित भवनको उद्‍घाटन
२०८०-०८-२८

काठमाण्डौ,  मंसिर २८ प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रहरी चौकी डोलेश्वर भक्तपुरको नवनिर्मित कार्यालय भवन,व्यारेक तथा मेश भवनको बिहिबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो साथै, उहाँले नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।   नेपाल सरकारबाट प्राप्त बजेट अन्तर्गत रही नेपाल प्रहरी प्रधान कार्यालय,भौतिक पूर्वाधार निर्देशनालयबाट योजना बनाई जिल्ला प्रहरी परिसर भक्तपुरको मातहत प्रहरी चौकी डोलेश्वरको कार्यालय तथा व्यारेक,मेश,र शौचालय भवनहरूको सम्पूर्ण लागत १ करोड १२ लाख ५६ हजार ७ सय ६२ रुपैयाँ र १० पैसा मा निर्माण सम्पन्न भएको थियो ।   उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिएको विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै  प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पुर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पुर्ण सिपाडोलबासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन उपत्यका प्रहरी शान्ति,सुरक्षा तथा सुशासनमा अझ व्यावसायिक बन्दै जाने प्रतिवद्वता व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट कानूनसम्मत तवरले प्रहरी कारवाही गर्न निर्देशन समेत दिनुभयो । साथै धार्मिक तथा पर्यटकिय स्थल डोलेश्वरमा प्रहरी चौकीको निर्माणले प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।       कार्यक्रममा बागमति प्रदेश सभाका सभासद माननिय किरण थापा, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक वेद बिष्ट, प्रहरी वृत्त जगतीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिप्ती कार्की, पूर्व प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. १५० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

CRV Patrol Tracking System (CPTS) का लागि (LOCOMO Device) हस्तान्तरण तथा जडान
२०८०-०८-२७

काठमाण्डौ, २७ मंसिरमिति २०८०/०८/२७ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई  Sentinel Lab का संस्थापक अध्यक्ष प्रणव बुढाथोकी र LOCOMO का ब्राण्ड एम्बेस्डर सुरज सिंह ठकुरीद्वारा  CRV Patrol Tracking System (CPTS) का लागि LOCOMO Device हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । Control Room Vehicle (CRV) मा जडित Device बाट CRV भ्यानको Real Time Location पहिचान गरी विशिष्ट व्यक्तिहरूको सवारीको सुरक्षा, सवारी साधनहरूको चोरी नियन्त्रण तथा अनुसन्धान, विपद उद्दार तथा खोजी कार्य, आकस्मिक उद्वार लगायतका प्रहरी कार्यमा प्रभावकारी तवरले प्रहरी परीचालन गर्नुका साथै CRV भ्यान र Police Control Room को समन्वयमा सहज बनाउन LOCOMO डिभाइसको प्रयोग प्रभावकारी हुनेछ । Sentinel Lab का निर्देशक अनिता देवकोटाले LOCOMO Device को प्राविधिक पाटो बारे चर्चा गर्नु भएको उक्त कार्यक्रममा Brand Ambassador तथा संस्थापक सल्लाहकार सुरज सिंह ठकुरीले नागरिकहरु बिना वर्दीका प्रहरी हुने भएकाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा आफ्नो र संस्थाको तर्फबाट सदैव सहयोग हुने प्रतिवद्दता जनाउनु भयो ।हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ‘Witness can lie but technology doesn’t’. साक्षीले सत्य नबक्न पनि सक्दछ तर प्रविधिले सदैव सत्य नै उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने कार्यमा यसबाट अपेक्षित लाभ हासिल हुन सक्ने तथा आधुनिक समयमा प्रविधिको प्रयोग गरी घटनाहरू घटाइने हुँदा प्रहरी कार्यलाई समेत थप प्रविधियुक्त बनाई समग्रमा सुरक्षा प्रदान गरिने र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन LOCOMO Device कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक लाल मणी आचार्य, Sentinel Lab का पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायतका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसा विरुद्वका विभिन्न पर्चा तथा पम्पेलेटहरू वितरण कार्यक्रम सम्पन्न
२०८०-०८-२४

काठमाण्डौ, २४ मंसिर हरेक वर्ष नोभेम्वर २५ देखि   डिसेम्वर १० तदनुसार (मंसिर ९ गतेदेखि २४ गतेसम्म)  अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्वता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत मिति २०८०/०८/२१ गते तथा २०८०/०८/२४ गते अभियान समापनको दिन यस उपत्यका प्रहरी कार्यालय महिला तथा वालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र  तथा सामुदायिक शाखाको संयुक्त आयोजनामा काठमाण्डौ महानगरपालिकाको विभिन्न क्षेत्रमा लैंगिक हिंसा विरुद्वका विभिन्न पर्चा तथा पम्पेलेटहरू वितरण तथा स्टीकरहरु टाँस गरिएको छ ।

लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न
२०८०-०८-२३

काठमाण्डौ, २३ मंसिरकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकाश समाज, कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाण्डौ महानहरपालिका वडा नं. ३२ तथा सुभ अवसर ग्राम नेपाल सयुत्त  आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा  सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि   डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म  अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्वता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत  उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।         कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नेपाल प्रहरी वर्षमा १६ दिन मात्र नभएर ३६५ दिन नै अभियानको रुपमा लागेको साथै राज्य नै लैंगिक हिंसाको सवालमा संभेदनसिल भई लागेकाले कुनै पनि पिडा तथा हिंसामा परेका महिला,पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्नुभयो ।  साथै उहाँले समायानुकुल ऐन, कानून तथा नियमावलीमा परिमार्जन गर्नका लागि समेत भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । कोटेश्वर चोकबाट सेती ओपी मार्गहुदै महादेव स्थान कोटेश्वरमा समापन भएको प्रभात फेरी कार्यक्रम पश्चात सामुदायिक सेवा तथा विकाश समाज, कोटेश्वरका कार्य बाहक अध्यक्ष रविन्द्र थापा सभापति रहेको सचेतनामुलक कार्यक्रममा बाग्मती प्रदेश सभाका सभासद माननिय सुनिल के.सी. ज्यु, बाग्मती प्रदेश सभाका सभासद माननिय सोना परियार ज्यु, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी बरीष्ठ उपरीक्षक भुपेन्द्र खत्री ज्यु, प्रहरी वृत्त नयाँ बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी ज्यु, पूर्व प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू,कोटेश्वर समाज सुधार युवा कल्बका पदाधिकारीहरू, कोटेश्वर महादेव क्षेत्र विकाश तथा व्यवस्थापन समाजका पदाधिकारीहरू, विद्यार्थीहरु, र स्थानीय भद्र भलादमीहरू लगायत अं. ५०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०८-२०

काठमाण्डौ, २० मंसिरमिति २०८०-०८-२० गते नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा बुधबार नेपाल पुलिस स्कुल सामाखुसी काठमाण्डौको  निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले शिक्षण पेसा सबैभन्दा आदरणीय र जिम्मेवार पेसा भएकाले शिक्षक पेसामा शिक्षकसँग ज्ञान, सीप र दक्षता संगै दूरदृष्टि क्षमता, पहिचान शक्ति, राष्ट्रप्रतिको चिन्ता, जीवनप्रतिको संवेदनशीलता, पेसाप्रतिको इमान्दारिता भएमा भविष्यको लागी मानव जीवनका सर्वांगीण क्षेत्रमा सकारात्मक र जिम्मेवार  नागरिक विकास गर्न मद्दत पुग्ने बताउनुभयो । साथै स्कुलको गुणस्तरीय नतिजा तथा विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्कुलमा सम्वद्व सम्पुर्ण पदाधिकारीहरु तथा शिक्षकहरू एक्यवद्व हुन अनुरोध गर्दै शिक्षकहरुलाई  आधुनिक शिक्षा  तथा प्रविधिको ज्ञान हुनुपर्नेमा समेत जोड दिनुभयो। निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नेपाल पुलिस स्कुल परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै स्कुलका सम्वधमा जानकारी लिनुभएको थियो । कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य ,जिल्ला प्रहरी परिसर काठमाण्डौका  प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु लगायत प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसाको वर्तमान अवस्था र लैंगिक हिंसा नियन्त्रणमा सञ्जालको प्रभावकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न
२०८०-०८-१९

काठमाण्डौ, १९ मंसिर मिति २०८०-०८-१९ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको रानीहलमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लैंगिक हिंसाको वर्तमान अवस्था र लैंगिक हिंसा नियन्त्रणमा सञ्जालको प्रभावकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि   डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म  अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्वता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत  उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । यस उपत्यका प्रहरी कार्यालय महिला तथा वालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका शाखा प्रमुख प्रहरी नायव उपरीक्षक कोपिला चुडालले लैंगिक हिंसाको वर्तमान अवस्था र चुनौतिहरु सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यकाको तीनवटै जिल्लाको प्रतिनिधित्व गर्दै लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति काठमाण्डौका कोषाध्क्ष रशना ढकालले सञ्जालको गठन, उद्देश्य, प्रभावकारिता र वर्तमान अवस्थाको विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले आफ्नो जिज्ञासा तथा राय सुझाव राख्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञासा तथा राय सुझावलाई सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सामाजिक तथा मानवीय कार्य लैंगिक हिंसा विरुद्वको अभियानमा लाग्ने सम्पूर्ण महानुभाव, सञ्जालमा संलग्न संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै नागरिक तथा सामाजिक संघ, संस्थाका प्रतिनिधिहरू पनि विना वर्दीका प्रहरी भएकाले सञ्जालको सक्रियतामा नेपाल प्रहरीले समन्वयात्मक तवरले सहकार्य गर्ने  तथा अगामी दिनका चुनौतीहरूलाई मध्यनजर गर्दै ३६५ दिन नै अभियानको रुपमा मनाउने बताउनुभयो । उहाँले समायानुकुल ऐन, कानून तथा नियमावलीमा परिमार्जन गर्नका लागि समेत भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, लैंगिक हिंसा नियन्त्रण सञ्जालमा आवद्व विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।   

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
२०८०-०८-१५

काठमाण्डौं, १५ मंसिर        मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ वटा मोटरसाइकल बरामद भएको छ ।        ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भई काठमाण्डौ बौद्ध बस्ने बिजय श्रेष्ठ, मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने अमित लामा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ घर भई ललितपुर महानगरपालिका-९ बालकुमारी खरिबोट  बस्ने पञ्चलाल ब्लोन र मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ फापरबारी घर भई ललितपुर लुभु बस्ने पासाङ लामा रहेका छन् ।        चोरीको अनुसन्धान गर्ने क्रममा मंसिर १३ गते राति ललितपुर महानगरपालिका-१५ खुमलटार हाईटस्थित गल्लीभित्र बा.प्र.०२-०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाई राखेको अवस्थामा फेला पारी चारै जनालाई प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनीहरूको मिलोमतोमा बा.प्र.०२-०३७प०८६२ नम्बरको मोटरसाइकल ललितपुर बोधीग्रामबाट र बा.प्र.०३१ प ५८१४ नम्बरको मोटरसाइकल ईमाडोल रातामकै चोकबाट चोरी गरी उक्त स्थानमा लुकाई राखेको र बा.प्र.०२-०४५ प ९५९२ नम्बरको मोटरसाइकल हात्तिवनबाट  तथा बा. ८२ प ७१२४ नम्बरको मोटरसाइकल हरिसिद्धीबाट चोरी गरी ललितपुर महानगरपालिका-२३ गैरीगाउँ टोलस्थित खाली स्थानमा लुकाई राखेको अवस्थामा फेला पारी ४ वटै मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर चाबी, चाबी बिना डाईरेक्ट स्टार्ट गर्ने तारसहितको प्लक र साबुत चाबी १ थान र भाँचिएको चाबी १ थान र हेल्मेट १ थान बरामद भएको छ । उनीहरू उपर ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
२०८०-०८-१५

ललितपुर, १५ मंसिर        ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैसेपाटी बस्ने डा.फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औठी, म्याकबुक, ल्यापटप, समेतका विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१८ बिनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, काठमाण्डौ नागार्जुन नगरपालिका-८ भिमढुङ्गा घर भई ललितपुर पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, मकवानपुर बागमती गाउँपालिका-१ बन्जरे बस्ने २० वर्षीय राजु तामाङ भन्ने राजु भोलन र रामेछाप गोठगाउँ गाउँपालिका-७ गोठगाउँ घर भई  भक्तपुर बालकोट डेरा गरी बस्ने ३९ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये सबिन र राजु चोरी गर्ने तथा मनोज र उमेश चोरी गरेको अमेरिकी डलर सटही गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  साथै प्रहरीले चोरी गरेका सामानहरु विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट डाँका चोरी कसुरमा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।        यसैगरी ललितपुर महानगरपालिका-१८ भैंसेपाटीस्थित  कामेश्‍वर यादवको घरकोठा तथा उनकै घरमा डेरा गरी बस्ने शोभा ढकालको कोठा समेतबाट करिब १९ लाख ४२ हजार ६ सय रूपैयाँ बराबरको नगद तथा जिन्सी धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-३ शैलुङ्गेश्वरी घर भई ललितपुर बुंगमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बर बहादुर तामाङलाई मंसिर ५ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई अमेरिकी डलर ४ हजार ४ सय, भारतीय रूपैयाँ ५६ हजार ८ सय, सुनका जस्तो देखिने विभिन्न गरगहना लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर            काठमाण्डौ, चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वान्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ५० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बुधबारे गाउँपालिका-५ बस्ने ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका-३ बस्ने ३९ वर्षीय हरि बहादुर बिक रहेका छन् । भद्रपुरबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.प्र०२-०३-००१ख ५५५० नम्बरको बसलाई प्रहरी प्रभाग ‍नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङगाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र ३ वटा पोकामा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर             वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-३ बसुन्धारा बस्ने पाल्पा रब्दिकोट नगरपालिका-४ घर भएका ३३ वर्षीय चक्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              पोखरेलले १ जनालाई वैदेशिक रोजगारीको लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख रूपैयाँ ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बसुन्धराबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।  

पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर              वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा गंगादेव गाउँपालिका-३ घर भएका ३९ वर्षीय निमराज डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।                      डाँगीले १ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौको गोंगबुबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।  

अनलाईनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर             अनलाइनमार्फत १ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने सप्तरी कञ्चनरूप नगरपालिका-९ घर भएकी २७ वर्षीया सुजता चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।             चौधरीले आफू टर्किको नागरिक हो भनि फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडि, जुत्ता, सुनका गहना, मेकअप लगायतका सामानहरू पठाएको र उक्त सामान काठमाण्डौ एयरपोर्टमा आइपुगेकोले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरुको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।              उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

का.उ.प्र.का. र का.म.न.पा. , च:मती जग्गा एकीकरण आयोजनाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८०-०८-०६

काठमाण्डौ, ६ मंसिर        काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाबीच काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाको तर्फबाट आयोजना प्रमुख निर्मल राज बरालले रु.१,०१,२३,१२०/६६ (अक्षरेपी एक करोड एक लाख तेईस हजार एक सय बिस र पैसा छैसठ्ठी मात्र) रकमको सिसिटिभी जडान गर्ने उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।        सो कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत च:मती जग्गा एकीकण आयोजनासँग सहकार्य गर्दै जाने बताउनुभयो ।        काठमाण्डौ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गर्न सिसिटिभि जडान गराउने सम्झौता-पत्रमा उल्लेख  गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।        कार्यक्रममा काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

स्रोत नखुलेको रकमसहित पक्राउ
२०८०-०८-०४

काठमाण्डौ, ४ मंसिर            काठमाण्डौ महानगरपालिका-१४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाण्डौ ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाण्डौ नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेका छन् । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र ०२-०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।            यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

जुवातास खेल्दा खेल्दै काठमाण्डौबाट २४ जना पक्राउ
२०८०-०८-०४

काठमाण्डौ, ४ मंसिर            काठमाण्डौ महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ‍‍‍‍‍‍‍‍६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर (जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।            काठमाण्डौ महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।            सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

चाडपर्व लक्षित विशेष सुरक्षाको समिक्षा र आगामी सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०८-०२

काठमाण्डौ, ०२ मंसिरकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा शनिबार विहान नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अडिटोरियम  हलमा  यस कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुख, जुनियर प्रहरी अधिकृत तथा हबल्दार मेजर(ह.मे.) सम्मका प्रहरी कर्मचारीलाई चाडपर्व लक्षित विशेष सुरक्षाको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबिम्बको रुपमा रहने हुनाले उपत्यका प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो।चाडपर्वको समयमा प्रहरी कर्मचारीले उच्च व्यवसायिकताका साथ सुरक्षा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले निकट भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीसंग  समन्वय र सहकार्य गर्दै स्वतन्त्र,निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिनु भयो ।      गैरकानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी  सूचना संकलनमा प्रभावकारीरूपमा लागी प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनु भयो ।कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारी गरी जम्मा ४५३ प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो । 

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८०-०८-०१

काठमाण्डौ, २८ कात्तिक            काठमाण्डौ, शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८ सय ३५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत ९ जनालाई गएराति  प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार ८ सय ५५ रुपैया र १ बुक ताससहित पक्राउ गरेको हो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<